उदयदेव पाटन प्रिमियर लिग: प्रायोजकहरुको खोजी सुरु, मुख्य प्रायोजक बन्न ३ लाख

बैतडी: बैतडीको पाटनमा हुने उदयदेव-पाटन प्रिमियर लिग सिजन ६ को आगामी कात्तिकमा हुने तय भएको छ ।
आयोजक पाटन एकता समाजले जसका लागि मुख्य प्रायोजकलगायतका सहयोगी दाताहरूकाे खोजी सुरु गरेको छ ।

मुख्य प्रायोजकका लागि ३ लाख भन्दा माथि सहयोग गर्नुपर्ने आयोजक संस्थाका अध्यक्ष किरण चन्दले जानकारी दिनुभयो ।
मुख्य प्रायोजक बन्ने संस्था तथा कम्पनीलाई प्रतियोगिताको नामसँगै जोडिने,सम्पूर्ण प्रतियोगिताको मुख्य प्रचारप्रसारमा प्रायोजकको नाम र लोगो प्रयोग हुने, मुख्य व्यानर तथा प्रचार सामग्रीमा प्रमुख स्थान दिइने,मुख्य खेलाडी तथा अतिथिहरूको अगाडि विशेष परिचय तथा सम्मान,उद्घाटन तथा समापन समारोहमा विशेष सम्मान,प्रतियोगितासँग सम्बन्धित सामाजिक सञ्जाल तथा डिजिटल प्रचारमा प्रमुख प्राथमिकता र प्रतियोगिता अवधिभर मुख्य मैदानमा विशेष ब्रान्डिङ तथा व्यानरको व्यवस्था गरिने जनाएको छ ।

यस्तै सह प्रायोजकको लागि एक लाख ५० हजार भन्दा बढी सहयोग गर्नुपर्ने जनाएको छ । सहप्रायोजकको मुख्य प्रचार सामग्री तथा व्यानरमा लोगो,मुख्य कार्यक्रम तथा प्रचार प्रसारमा नाम उल्लेख, उद्घाटन तथा समापन समारोहमा विशेष सम्मान, सामाजिक सञ्जाल तथा डिजिटल प्रचार सामग्रीमा लोगो तथा नाम समावेश,मुख्य मैदानमा ब्रान्डिङ तथा व्यानर राख्ने सुविधा दिइनेछ ।
सिल्भर स्पोन्सरका लागि ७५ हजारभन्दा सहयोग गर्नुपर्ने आयोजकले उल्लेख गरेको छ । जसको मुख्य व्यानर तथा प्रचार सामग्रीमा लोगो तथा नाम समावेश, सामाजिक सञ्जालमा प्रायोजकको नाम तथा लोगो प्रचार,प्रतियोगिताका प्रमुख कार्यक्रममा विशेष सम्मान,मैदानमा प्रायोजकको ब्यानर राख्ने सुविधा,उद्घाटन वा समापन कार्यक्रममा प्रायोजकको नाम उल्लेख गरिनेछ ।
ब्रोनज स्पोन्सर बन्नका लागि ५० हजारभन्दा माथि, सहयोगी प्रायोजकका लागि २५ हजारभन्दा माथि,सहसहयोगी प्रायोजकका लागि दश हजारचन्दा माथि र विशेष सहयोग तथा वस्तुगत सहयोग समेत गर्न सकिनेछ । प्रायोजक तथा सहयोग गर्ने दाताहरुलाई विभिन्न सुविधा र सम्मान गरिने अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिता पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा कार्तिक ८ गतेदेखि सुरु हुन लागेको छ ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले बैतडी जिल्लाबाहिरका बढीमा तीन जना खेलाडी समावेश गर्न पाउनेछन्। टिम दर्ताको समय असोज २७ गते राति १२ बजेसम्म तोकिएको छ।
दर्ता शुल्क १६ हजार ५०० राखिएको छ।
प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन।
त्यस्तै, म्यान अफ द सिरिजलाई ट्रफीसहित १३ हजार ६ सय ६६ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समान ५ हजार ६ सय ६६ रुपैयाँ तथा उदयमान खेलाडीलाई ३ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

पाटन एकता समाजले यसअघि प्रतियोगिताका पाँच संस्करण भव्य रूपमा सम्पन्न गरिसकेको छ। यस वर्ष प्रतियोगितालाई थप उत्साहजनक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको आयोजक एकता समाजका सचीव हरिश केसीले जानकारी दिनुभयो।

यस वर्षको प्रतियोगिताको बिजेता टोलीले यसअघि जस्तै आकस्मिक लाभकर नकाटिकनै घोषणा गरिएको पूर्ण रकम पाउने क्लबका कोशाध्यक्ष बिरेन्द्र भण्डारीले जानकारी दिनुभयो।
पाँचौँ संस्करणको उदयदेव–पाटन प्रिमियर लिगको उपाधि कोइनोडा गुरुखोला लायन्सले जितेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!