काठमाडौं: भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेकाे छ।
दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत उपाधि नजिक पुगेकाे हाे।
भारतले सन २०२२काे विश्वकपकाे सेमिफाइनलमा इंग्ल्यान्डसंग हारेकाे बदला समेत लिएकाे छ।
जितका लागि पाएकाे १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अल आउट भयो ।
उसका ह्यारी ब्रुकले १९ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाए ।
भारतका अक्षर पटेलले ३,विकेट लिए । कुलदीप यादवले ३ र जस्प्रित बुमराहले २ विकेट लिए ।
त्यसअघि गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
जसमा कप्तान रोहित शर्माले ५७ र सूर्यकुमार यादवले ४७ रन बनाए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए ।
भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । फाइनलमा भारतले अब दक्षिण अफ्रिकाकाे सामना गर्नेछ।
पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
फाइनल भिडन्त शनिबार हुनेछ ।
