काठमाडौं: कप्तान लियोनल मेसीले कीर्तिमानी १६ गोलको कीर्तिमान तोडेपछि अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
अमेरिकाको अर्लिङटनमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले हरायो । अर्जेन्टिनाको जितमा मेसीले दुबै गोल गरेका थिए ।
मेसीले पहिलो हाफको ३८औं मिनेटमा गोल गरेका हुन् । मेसीले फाकुन्डो मेडिनाको पासमा बक्सभित्रबाट हानेको शक्तिशाली प्रहार सिधै जाली चुमेको थियो । दोस्रो गोल इन्जुरी समयमा भएको थियो ।
योसँगै मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमान भंग गरेका हुन् । पहिलो खेलमा अल्जेरियाविरुद्ध मेसीले ३ गोल गर्दै १६ गोल बराबरी गरेका हुन् ।
यस्तै कप्तान किलियन एम्बाप्पेको २ गोल सहयोगमा फ्रान्स पनि लगातार २ जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।
यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।
पहिलो हाफ सकिँदा भारी वर्षा भएपछि खेल २ घन्टा रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
फ्रान्सका कप्तान केलिएन एम्बाप्पेले फिफा विश्वकपमा १६ गोल गर्दै सर्वाधिक गोलकर्तामा संयुक्त रुपमा दोस्रो स्थानमा उक्लेका छन् ।
