जेनजी शहीद परिवारलाई रोजगारी 

बैतडी: जेनजी आन्दोलनमा शहीद भएका बैतडीको शिवनाथका दिपकसिंह साउँदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् । 
शहीद दिपककी भाउजु सरस्वती साउँदले नेपाल विद्युत प्राधिकरणमा रोजगारी पाएकी हुन् । नेपाल विद्युत प्राधिकरणको जनसाधारण विभागले रोजगारी पाउने जेनजी शहीदका परिवारका सदस्यहरुको नामावली प्रकाशन गरेको छ । 

उक्त नामावलीमा शहीद साउँदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख गरिएको छ । नेपाल विद्युत प्राधिकरणले साउँदसहित २७ जना जेनजी शहीदका परिवारका सदस्यहरुलाई रोजगारी दिने उल्लेख गरेको छ । 
शिवनाथ गाउँपालिका–२ शर्माली घर भएका दिपक साउँदको गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो । कृषि जेटीएको अध्ययन गरेर उनी रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी गरिरहेका थिए । 

जेनजी आन्दोलनमा उनी शहीद भएपछि सरकारले यसअघि नै उनको परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ ।
यस्तै शिवनाथ गाउँपालिकाले पनि शहीद परिवारलाई गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयाे । गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि शहीद परिवारलाई प्राथमिकतामा राखिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!