राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिमबाट कांग्रेस र एमाले उम्मेदवारकाे जित

बैतडी: राष्ट्रिय सभा सदस्य निर्वाचनमा  सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारले जित निकालेकाे छ।
आज धनगढीमा सम्पन्न निर्वाचनबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला कुमारी भण्डारीले जित दर्ता गराउनुभयाे।
यहाँ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन रहेको थियो।
महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी हुनुभएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयाे। उहाँका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गर्नुभयो ।

यसैगरी, अन्य समूहबाट नेपाली काँग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धि नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त ल्याउनुभयाे।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो।
कुल २ सय २४ मतदाता रहेकोमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरेका थिए। चार जनाले भनेे मतदान गर्नुभएन।
मतदान नगर्नेमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका जनाएको छ।

महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएकाे थियोे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!