बैतडी: बैतडीको पाटन नगरपालिका ६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको भन्दै पाँचजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धि मुद्दा दर्ता भएकाे छ।
विरभानकाे हत्यामा संलग्न रहेका पाँच जनाकाे नाममा आफन्तले किटानी जाहेरी दिएपछि मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयाे।
मुद्दा दर्ता भएकामध्ये ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एकजना अझै फरार रहेका छन् ।
पाटन नगरपालिका ६ की ३६ वर्षीया भागरथी विष्ट, पाटन नगरपालिका १ का राजेन्द्र भट्टराई र किशोर भट्टराईलाई प्रहरीले साेमबार पक्राउ गरेकाे थियाे । यस्तै मंगलबार पाटन नगरपालिका ६ कै भरतमोहन विष्टलाई पनि नियन्त्रणमा लिइएको छ। मुद्दा दर्ता भएकामध्ये एकजना अझै फरार रहेका र उनकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन ।
पक्राउ परेका चारैजनामाथि प्रहरीले अदालतबाट ५ दिनकाे म्याद थपेर अनुसन्धान भइरहेकाे जनाएको छ।
असार १ गते शनिबाररातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका ६ स्थित घाङल खोलामा फेला परेको थियो ।
भागरथीले विरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । भागरथी सहस्त्रलिंग आधारभूत विद्यालयकी शिक्षिका हुन्। भने मृतक ट्रक चालक रहेका थिए।
असार १ गते राति नै विरभानको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि पक्राउ परेका अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ ।
हत्याको कारण पूर्ण रूपमा खुलिनसकेको भएपनि रातिको समयमा घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको भागरथीको बयान रहेकाे प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
