बैतडी: हत्याकाे आराेपमा बैतडीमा तीन जना पक्राउ परेका छन्। पाटन नगरपालिका-६ का ४५ वर्षीय विरभान सिंह विष्टकाे हत्याकाे आराेपमा पाटन-६ कै २६ वर्षीया भागरथी बिष्ट,पाटन-१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेका छन्।
भागरथीलाई घरबाटै,राजेन्द्र र किशाेरलाई भागिरहेका अवस्थामा डडेल्धुराकाे भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयाे।
तीन दिनदेखि बेपत्ता रहेका विरभानको शव प्लाष्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियाे ।
मृतक विष्ट असार १ गते देखी सम्पर्क विहीन रहेका थिए । विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले साेमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीकाे नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हाे।
पक्राउपछि भागरथीले आफूले नै विरभानकाे हत्या गरेकाे स्वीकार गरिसेकेकी छन्। उनले चिरपटले हानेर विरभानकाे हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
असार १ गते शनिबार रातिको समयमा घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको भागरथीको बयान रहेकाे रहेकाे प्रहरीले जनाएको छ।
हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र शव लुकाएको र त्यसपछि प्लास्टिकमा बेरेर घाङल खाेलामा फालेकाे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोमबार भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर शव लगेको छापहरू देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले प्रहरीलाई खबर गरेका थिए ।
भागरथीले ती पुरुषको हत्या गरेपछि शव व्यवस्थापनमा अन्य तीनजनाकाे संलग्नता रहेकाे थियाे। शव व्यवस्थापनमा सहयाेग गरेकाे भन्दै राजेन्द्र र किशाेरलाई पक्राउ गरेकाे हाे ।
यस्तै शव व्यवस्थापनमा सहयाेग गरेका थप एकजना अझै फरार रहेका र उनकाे खाेजी कार्य जारी रहेकाे प्रहरी वरिष्ठ नायव निरीक्षक थापाले बताउनुभयाे।
विरभान र भागरथीको घरमा पहिल्यै देखि आउजाउ हुने गरेकाे खुल्नमा आएको छ ।
एकल महिला समेत रहेकी भागरथी सहस्त्रलिङ्ग प्राविकी राहत शिक्षिका पनि हुन् ।
मृतक विष्टकाे शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
