बैतडी: आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिश गरेको छ ।
जसमा प्रत्यक्षतर्फ जिल्लासभापति चतुरबहादुर चन्द शतप्रतिशत मतसहित सिफारिस हुनुभएको छ ।
उम्मेदवार सिफारिस गर्न बोलाएको जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुको संयुक्त बैठकमा उम्मेदवार सिफारिशका लागि सहमति नभएपछि मतदान प्रक्रियाबाट टुंगो लगाएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार एक निर्वाचन क्षेत्रबाट एक जना महिलासहित तीनजनाको नाम उम्मेदवारका लागि सिफारिश गर्नुपर्ने भएपनि सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट उम्मेदवारको नाम सिफारिश गर्ने निर्णय भएको जोशीले बताउनुभयो । केन्द्रले गरेको परिपत्रमा बढीमा दुईजना खुल्ला एक समावेसी महिलासहित तीनजनाको मात्रै सिफारिस गर्न भनेको थियो । तर बैतडीमा सहमतिको प्रयास गर्दागर्दै पनि निष्कर्ष ननिस्केपछि केन्द्रको परिपत्र अनुसार नै उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया गरिएको उम्मेदवार छनौट समितिका गणेश भण्डारीले बताउनुभयो । तीन घण्टासम्म आकाङ्क्षी बीच सहमति जुटाउने प्रयास सफल नभएपछि केन्द्रको निर्देशन अनुसार मत विभाजन गरिएको बताउनुभयो ।
मतदान प्रक्रियाबाट जिल्ला सभापति चतुरबहादुर चन्द र नेता विष्णुदत्त जोशीको नाम सिफारिश भएको उहाँले बताउनुभयो ।
बैठकमा जिल्ला कार्यसमितिका सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरेर ८२ जनाको उपस्थिती रहेको थियो । ८२ जना मध्ये ७३ जनाले मतदान गरेको र सभापति चन्दले ७३ मत प्राप्त गर्नुभएको छ । यस्तै जोशीले ४५ मत प्राप्त गरेका छन् । यस्तै उम्मेदवारका आकांक्षी उत्तरबहादुर ऐरले ६ मत, बिरबहादुर बिष्टले ४ मत, तेजबहादुर चन्दले तीन मत र नरबहादुर चन्दले शून्य मत प्राप्त गरेको बताइएको छ ।
महिलातर्फ जानकी भट्टमात्रै आकांक्षी देखिएकाले उहाँको नाम सिफारिश गरिने भएको छ।
यस्तै समानुपातिकतर्फ एकजनाको नाम सिफारिश गर्नुपर्नेमा देवु ठगुन्ना र कान्ता चन्द आकाँक्षी भएपछि मत विभाजन गरिएको थियो । मत विभाजन अनुसार कान्ता चन्दले ४५ मत र देवु ठगुन्नाले २५ मत प्राप्त गरेकी छन् । अब कान्ता चन्दको नाम समानुपातिकतर्फ सिफारिश गरिनेछ ।
यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिश गर्ने निर्णय भएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, पूर्व महाधिवेशन प्रतिनिधि सुरेन्द्रबहादुर चन्द र नेता प्रताप ठगुन्नाको नाम सिफारिश गर्ने निर्णय भएको सचिव जोशीले बताउनुभयो ।
यता मतदान प्रक्रियाबाट उम्मेदवारको नाम सिफारिश गर्ने कार्यको उम्मेदवारका आकाँक्षीहरुले विरोध गरेका छन् । सहमतिको अधिकतम सम्भावना हुँदाहुँदै मतदान प्रक्रियाबाट नाम टुंगो लगाउने कार्य पार्टीको हित विपरीत रहेको उनीहरुले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेताहरु बिरबहादुर बिष्ट, उत्तरबहादुर ऐर, तेजबहादुर चन्द, नरबहादुर चन्द र नन्दराज भट्टले विज्ञप्ती निकालेर सहमतिकै प्रक्रियाबाट उम्मेदवारको नाम टुंगो लगाएर सिफारिश गर्न आग्रह गरेका छन् ।
आफूहरुले सहमतिबाटै उम्मेदवारको नाम टुंगो लगाउन आग्रह गर्दागर्दै एकाएक मतदान प्रक्रियामा गएपछि मतदान प्रक्रिया बहिष्कार गरेको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताउनुभयो। निर्वाचनबाट उम्मेदवार सिफारिस गर्ने कामलाई अलोकतान्त्रिक भएको तर्क गर्नुभएको छ । तर मतदानका लागि बनेको उम्मेदवार छनौट समितिले भने उम्मेदवारी दर्ता सबैले गराएको केही उम्मेदवार मात्रै मतदानमा सहभागी नभएका जनाएको छ ।
हेर्नुस् केन्द्रको परिपत्र:-


असन्तुष्टहरुको विज्ञप्ती

