बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करणको दोस्रो सेमिफाइनल खेल आज सम्पन्न भएको छ ।
आज सम्पन्न खेलमा दशरथचन्द एकेडमीलाई ११९ रनले पराजित गर्दै पञ्चकोटी क्रिकेट क्लब फाइनलमा सुरक्षित भयो ।
जितका लागि पाएको २६३ रनको लक्ष्य पछ्याएको एकेडेमी २५ दशमलब ५ ओभरमा १४३ रनमा समेटियो । उसका सुदीप टमटाले सर्वाधिक ४५ रन बनाएपनि हार टार्न सकेनन् ।
पञ्चकोटीका लोकेन्द्र चन्दले चार विकेट हात पारे ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस पहिला ब्याटिंग गरेको पञ्चकोटी ३४ दशमलब ४ ओभरमा २६२ रनमा अलआउट भयो ।
जसमा म्यान अफ द म्याच समेत भएका लोकेन्द्र चन्दले ९४ रनको योगदान गरे ।
एकेडेमीका निखिल चन्दले ५ विकेट लिए
पञ्चकोटीले उपाधिका लागि शनिबार निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसि) संग भिड्नेछ ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी थिए ।
विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।
