बैतडी: कीर्तिमानी खेलमा विजयी हुँदै निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसि) प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनसिसिले पाटन एकता क्लबलाई १२६ रनले स्तब्ध पार्दै अन्तिम चारमा सुरक्षित भयो ।
दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिंग गरेको एनसिसिले निर्धारित ४० ओभरमा १ विकेटको क्षतिमा ३७८ रन बनायो ।
जसमा कीर्तिमानी व्याटिंग गर्दै खडक बोहराले दोहोरो शतक हिर्काए । म्यान अफ द म्याच समेत चुनिएका उनले १३१ बलको सामना गर्दै १९ चौका र १६ छ्रक्काको मद्दतमा २४२ रनको पारी खेले ।
खडकको बिडिसिए कपको इतिहासमा यो दोस्रो शतक हो । यसअघि २० औं संस्करणमा पनि उनले महामाया क्रिकेट क्लबकाविरुद्ध १४५ बलमा ३५ चौका र ७ छक्काको मद्दतमा २४२ रन नै बनाएका थिए । उक्त खेलमा एनसिसिले ५८७ रन बनाउदैं उच्च स्कोरको कीर्तिमान राखेको थियो ।
खडकको नाममा व्यक्तिगत उच्च स्कोर बनाउने रेकर्ड समेत छ ।
यसअघि एनसिसिकै दिपक बोहराले १४५ र गजेन्द्र बोहराले १४३ रन हिर्काएको रेकर्ड थियो । यो रेकर्ड दुई बर्षअगाडी नै खडकले तोडेका र आज उक्त रेकर्ड फेरी बराबरी गरे ।
यससंगै आज खडक र दिपेश बोहराले बिडिसिए इतिहास कै उच्च ३७८रनको साझेदारी गरे । दिपेश १०५ रनमा अविजित रहे ।
पाटनका किशोर बयानीले १ विकेट लिए ।
जवाफमा पाटनले निर्धारित ४० ओभरमा ८ विकेटको क्षतिमा २४२ रन मात्रै बनाउन सक्यो । उसका लक्ष्मण कार्कीले पनि शतकीय पारी खेल्दै ११६ रन बनाए ।
एनसिसिका बशन्त बोहराले २, समीर बोहरा र गजेन्द्र बोहराले ११ विकेट हात पारे ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।
