बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करण अन्र्तगत आज भएको खेलमा कैलपाल क्रिकेट क्लब विजयी भएको छ ।
कैलपालले पाटन एकता समाजलाई ६ विकेटले हरायो ।
पाटनले दिएको १३३ रनको सामान्य लक्ष्य कैलपालले १७ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
जसमा म्यान अफ द म्याच समेत भएका सन्तोष चन्दले अर्धशतक्रीय पारी खेल्दै ५१ र प्रदीप चन्दले ४० रनको योगदान गरे ।
पाटनका किशोर बयानीले ३ विकेट हात पारे ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिंग गरेको पाटन २७ ओभरमा १३२ रनमा अलआउट भयो ।
उसका लक्ष्मण कार्कीले सर्वाधिक ३९ रन जोडे ।
कैलपालका केशव नाथले ३ र आकाश चन्द र अमर चन्दले २/२ विकेट हात पारे।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।
