बिडिसिए कपः गजेन्द्रको शतकमा निङ्गलाशैनीको शानदार सुरुवात

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करण अन्र्तगत आज भएको खेलमा निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसि) विजयी भएको छ ।

एनसिसिले कैलपाल क्रिकेट क्लबलाई १३४ रनले हरायो ।

जितका लागि पाएको २७९ रनको विजय लक्ष्य पछ्याएको कैलपाल २७ दशमलब २ ओभरमा १४४ रनमा समेटियो ।

उसका प्रदीप चन्दले सर्वाधिक ४० रन हिर्काए ।

एनसिसिका कप्तान रिसिकेश बोहराले ४, गजेन्द्र बोहराले ३ विकेट हात पारे ।

यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर पहिला ब्याटिंग गरेको एनसिसि ३९ दशमलब २ ओभरमा २७८ रनमा अलआउट भयो ।

एनसिसिका गजेन्द्र बोहराले शतकीय पारी खेल्दै १०९ रन बनाए ।

गजेन्द्र जारी प्रतियोगितामा शतक हिर्काउने पहिलो खेलाडी समेत बने । उनले म्यान अफ द म्याचको पुरस्कार पनि पाए ।

कैलपालका प्रदीप चन्दले ५,कप्तान अमर चन्दले २ विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् ।

मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!