बिडिसिए कपः पञ्चकोटीको उत्कृट सुरुवात,लोकेन्द्र चन्द चम्किए

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करण अन्र्तगत आज भएको खेलमा पञ्चकोटी क्रिकेट क्लब विजयी भएको छ ।

पञ्चकोटीले कालाशैनी क्रिकेट क्लबमाथि २०६ रनको जित निकाल्दै उत्कृष्ट सुरुवात गर्यो ।

जितका लागि पाएको २८३ रनको विशाल लक्ष्य पछ्याएको कालाशैनी १७ दशमलब ३ ओभरमा ७६ रनमा अलआउट भयो ।

जसमा दिनेश चन्दले अविजित ३४ रन जोडे पनि अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पञ्चकोटीका कमल बुडालले ४ विकेट हात पारे ।

यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिंग गरेको पञ्चकोटी ३६ ओभरमा २८२ रनमा समेटियो ।

उसका लोकेन्द्र चन्द र जीवन कार्कीले अर्धशतकीय पारी खेले । लोकेन्द्रले ९३ र जीवनले ६४ रनको योगदान गरे ।

यस्तै सुदीप कार्की ३४ रनमा अविजित रहे ।

लोकेन्द्रले प्लेयर अफ द म्याचको उपाधि हात पारेका स्कोरर दीपेन्द्र बहादुर बोहराले बताउनुभयो ।

बलिंगमा कालाशैनीका पञ्कज चन्द र टेकेन्द्र चन्दले ४/४ विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् ।

मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!