बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करण अन्र्तगत आज भएको खेलमा कालाशैनी क्रिकेट क्लब विजयी भएको छ ।
कालाशैनीले केदार नागार्जुन क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्यो ।
जितका लागि पाएको १२५ रनको सामान्य लक्ष्य कालाशैनीले १५ दशमलब २ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो ।
जसमा दिनेश चन्दले सर्वाधिक ४७ ,मदन चन्दले अविजित २७ र भुवन महरले २० रनको योगदान गरे ।
केदार नागार्जुनका अल्बिन रावतले २ विकेट हात पारे ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिंग गरेको केदार नागार्जुन २० दशमलब २ ओभरमा १२४ रनमा अलआउट भयो ।
उसका सन्तोष चन्दले ३८,महेश रावतले ३७ र शिवसिंह भण्डारीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिंगमा कालाशैनीका जगदीश चन्दले ५ विकेट झारे । उनी म्यान अफ द म्याच पनि चुनिए । यस्तै पञ्कज चन्दले ३ विकेट लिए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।
