बैतडी: बैतडी जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी भएको छ ।
जीर्ण अवस्थामा रहेको बन्दीगृहलाई नयाँ निर्माण गर्नका लागि कैदीबन्दीलाई स्थानान्तरणको तयारी भएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताउनुभयो ।
२५ जना क्षमता रहेको यहाँको कारागारमा हाल ५२ कैदी र आठ थुनुवा गरेर ६० कैदीबन्दी रहेका छन् ।
उहाँले भन्नुभयो,“ जीर्ण अवस्थामा रहेको बन्दीगृहको नयाँ भवन निर्माण गरिने भएको छ । त्यसका लागि यहाँ रहेका ६० कैदीबन्दीलाई स्थानान्तरण गर्न लागेका हौं । यही हप्ताभित्रै स्थानान्तरण गरिसक्ने योजना छ ।”
यहाँ रहेका कैदीबन्दीलाई दार्चुला, डडेल्धुरा, बझाङ, कञ्चनपुर र बाँके कारागारमा स्थानान्तरण गरिनेछ ।
नयाँ बन्दीगृह निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख भण्डारीले बताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले निर्माण कम्पनीसँग सम्झौता गरिसकेकाले कैदीबन्दी तथा थुनुवाहरूको स्थानान्तरणको तयारी भएको हो ।
स्थानान्तरणपश्चात निर्माणको काम हुने जनाएको छ ।
नयाँ बन्दीगृह निर्माणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र निर्माणका लागि केकेजे कालिका एस बी जेभी सुकेधारा कम्पनीसँग सम्झौता भएर कार्यादेश आइसकेको प्रमुख भण्डारीले बताउनुभयो ।
८५ जना क्षमताको नयाँ बन्ने बन्दीगृह वि स २०८४ साल असार १५ सम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ ।
वि स २०४० सालमा निर्माण भएको हालको बन्दीगृह जीर्ण अवस्थामा रहेको र त्यसमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा सुरक्षा चुनौती र व्यवस्थापनमा समस्या हुँदै आएको थियो ।
नयाँ बन्दीगृह बनेपछि व्यवस्थापनमा सहजता आउने प्रमुख भण्डारीको विश्वास रहेको छ ।
