बैतडी: त्रिपुरा क्रिकेट क्लब,प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करणको सेमिफाइनलमा पुगेको छ ।
सेमिफाइनल प्र्रवेश गर्ने क्रममा त्रिपुराले जनसेवा क्रिकेट क्लबमाथि ६ विकेटको जित निकाल्यो ।
जनसेवाले दिएको ९५ रनको सामान्य लक्ष्य त्रिपुराले ११ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
जसमा त्रिलोक महरले ३४,महेन्द्र थापाले २५ र लोकेन्द्र थापाले १५ रनको योगदान गरे ।
जनसेवाका रुपेश चन्द र कमलेश महरले २÷२ विकेट हात पारे ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिंग गरेको जनसेवा २१ दशमलब ५ ओभरमा ९४ रनमा समेटियो ।
उसका भरत चन्दले अविजित १९,मनिस दयालले १९,किसन चन्दले १३ र रुपेश चन्दले ११ रन जोडे ।
त्रिपुराका रन्जित सिंह थापाले ३ विकेट हात पारे । उनी प्लेयर अफ द म्याच समेत चुनिए ।
यस्तै पियुस थापा र सन्तोष चन्दले २÷२ विकेट झारे ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।

