बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करण अन्र्तगत आज भएको खेलमा जनसेवा क्रिकेट क्लबले उत्कृष्ट सुरुवात गरेको छ ।
जनसेवाले साबिक विजेता नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)माथि ४३ रनको जित दर्ता गर्यो ।
एनआरवाइसी यो हारसंगै लिग चरणबाटै बाहिरिएको छ । उसको यो दोस्रो हार हो । एनआरवाइसी यसअघि हिजो त्रिपुरा क्रिकेट क्लबसंग १८६ रनले स्तब्ध भएको थियो ।
जनसेवाले दिएको १८२ रनको लक्ष्य पछ्याएको एनआरवाइसी १८ दशमलब २ ओभरमा १३८ रनमा अलआउट भयो ।
जसमा निशान्त जोशीले अर्धशतकीय पारी खेल्दै ५९ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।
खेलका प्लेयर अफ द मयाच समेत भएका जनसेवाका नरेन्द्र चन्दले ३ विकेट चट्काए । यस्तै भरत चन्द र कमलेश महरले २/२ विकेट हात पारे ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिंग गरेको जनसेवा २८ ओभरमा १८१ रनमा समेटियो । उसका राजेश चन्दले ४४ र नरेन्द्र चन्दले ४० रनको पारी खेले ।
एनआरवाइसीका भुपेन्द्र चन्दले ४ र शुषिल भाटले ३ विकेट झारे ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।
