बैतडी: महाकाली करिडोरको ट्रयाक खुलेसंगै बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट जिल्ला सदरमुकामको दुरी छोट्याएको छ ।
करिडोर अन्र्तगत पञ्चेश्वरको अर्तोली भन्ने स्थानमा रहेको कडा चट्टानका कारण समस्या भएको थियो ।
उक्त कडा चट्टानका कारण सडक निर्माणमा निकै समस्या रहेकोमा अहिले समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो,“करिडोर अन्र्तगत अर्तोलीमा रहेको कडा चट्टानका काटिएसंगै सदरमुकाम आवतजावतको दुरी छोटिएको छ । यसअघि आठ घण्टा लाग्ने गरेकोमा अबदेखि दुई घण्टामै सदरमुकाम पुग्न सकिन्छ ।”
यसका साथै उक्त चट्टान काटिएसंगै वडा नम्बर ५ गिरेगडा र वडा नम्बर ६ रोडिदेवल पालिका केन्द्र कुँलाउसंग जोडिएको छ ।
ट्रयाक खुलेसंगै वडा नं ५ र ६ पनि गाउँपालिकाको केन्द्रसँग सडक जोडिएको छ ।
सडक निर्माण नहुँदासम्म गाउँपालिकाको वडा नं ५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्र पुग्न निकै समस्या रहेको थियो ।
सडक निर्माण कार्य भएपछि अब स्थानीयहरुलाई पालिकामा पुग्न सहज भएको अध्यक्ष चन्दले बताउनुभयो ।
अध्यक्ष चन्दले भन्नुभयो,“सडक जोडिएसँगै वडा नं ५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्रसम्म पुग्न सहज भएको छ । यो संगै सबै वडा पालिकाका केन्द्रसम्म जोडिएका छन् । पालिका पुग्न पनि घण्टौं हिड्ने नागरिक अब गाडीमा छिटो पालिका पुग्नेछन् । ”
गाउँपालिकाका हरेक वडाबाट पालिकाको केन्द्रसम्म पुग्ने कच्ची सडकहरु निर्माण भएका हुन् ।
करिडोरले दुरी छोटो भएसंगै हजारौं खर्च गरेर कुलाउँ,शिवनाथ मेलौलीको बाटो प्रयोग गर्ने नागरिक अब करिडोरबाट कम खर्च र कम समयमा नै जिल्ला सदरमुकाम पुग्ने अध्यक्ष चन्दले बताउनुभयो ।
यसका साथै पालिकाका सबै वडामा सडक बिस्तार भएसंगै सामाजिक सुरक्षा भत्ता लगायतका कार्यहरु सञ्चालन गर्न सहज हुने जनाएको छ ।
महाकाली करिडोर कञ्चनपुर–डडेल्धुरा–बैतडी हुँदै दार्चुलासम्म पर्दछ ।
