बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करणको खेलतालिका सार्वजनिक भएको छ ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा यो प्रतियोगिता यहि कात्तिक २१ गतेदेखि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा हुँदैछ ।
बिडिसिए कपको खेलतालिका सार्वजनिक गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुने १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ए मा एनआरवाइसी, त्रिपुरा, जनसेवा क्लब रहेका छन् । समूह बी मा पञ्चकोटी,केदार नागार्जुन र कालाशैनीलाई राखिएको छ ।
निङ्गलाशैनी, कैलपाल र पाटन एकता समूह सी मा परेका छन् । समूह डी मा एकेडेमी,थालिगडा र ग्वाल्लेक क्लब अटाएका छन् ।
कात्तिक २१ गते हुने पहिलो तथा उद्घाटन खेलमा एनआरवासी र त्रिपुरा भिड्नेछन् । कात्तिक २२ गते एनआरवासी र जनसेवा, कात्तिक २३ गते जनसेवा र त्रिपुरा आमनेसामने हुनेछन् ।
कात्तिक २४ गते कालाशैनी र केदार नागार्जुन, कात्तिक २५ गते पञ्चकोटी र कालाशैनी, कात्तिक २६ गते केदार नागार्जुन र पञ्चकोटीबीच भिडन्त हुनेछ ।
कात्तिक २७ गते निङ्गलाशैनी र कैलपाल, कात्तिक २८ गते कैलपाल र पाटन एकता,कात्तिक २९ गते पाटन एकता र निङ्गलाशैनी खेल्नेछन् ।
कात्तिक ३० गते एकेडेमी र थालिगडा,मंसिर १ गते थालिगडा र ग्वाल्लेक , मंसिर २ गते ग्वाल्लेक र एकेडेमीबीचको खेल हुनेछ ।
मंसिर ३ गते समूह ए को विजेता र समूह सी को विजेताबीच पहिलो सेमिफाइनल र कात्तिक ४ गते समूह बी को विजेता र समूह डी को विजेता दोस्रो सेमिफाइनल खेल्नेछन् ।
मंसिर ५ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

