काठमाडौं: आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै आयोजक भारतले उपाधि जितेको हो ।
उसले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको हो ।
पहिलोपटक फाइनल खेलेको दक्षिण अफ्रिकाको उपाधि सपना भने यसपालि पनि अधुरै रह्यो । फाइनलमा भारतले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३.३ ओभरमा २ सय ४६ रनमै अलआउट भयो ।
उसका लागि कप्तान लौरा वोल्भार्डले शतकीय पारी खेले पनि दक्षिण अफ्रिकाले जित निकाल्न नसकेको हो ।
उनले ९८ बलमा ११ चौका र एक छक्कासहित सर्वाधिक १०१ रनको पारी खेलिन् । भारतका लागि दिप्ती शर्माले ९.३ ओभरमा ३९ रन दिएर सर्वाधिक पाँच विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९८ रन बनायो ।
उसका लागि शफाली बर्माले उत्कृष्ट इनिङ खेलिन् । उनले ७८ बलमा सात चौका र दुई चौकासहित ८७ रनको पारी खेलेकी हुन् ।
यस्तै, दिप्ती शर्माले ५८, स्मृति मान्धनाले ४५, ऋचा घोसले ३४, जेमिमा रोड्रिग्सले २४, कप्तान हरमनप्रित कौरले २० तथा अमनजोत कौरले १२ रन बनाइन् ।
दक्षिण अफ्रिकाका लागि अयाबोङ्गा खाकाले ९ ओभरमा ५८ रन दिएर सर्वाधिक तीन विकेट लिइन् ।
