बैतडी: सूचनाको माग गर्दै जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तीन हप्तादेखि गरेको तालाबन्दी अझै खुल्न सकेको छैन् ।
विभिन्न ११ बुँदे माग राख्दै गत असोज २४ गतेदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको जेनजी समूहका नेतृत्वकर्ता बिशाल भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ गाउँपालिकाको हितको लागि र पालिकामा सुशासन कायम गर्नको लागि माग अघि सारेका हौं । सूचनाको मागहरूलाई तुरुन्तै कार्यान्वयन गर्नुपर्छ । नत्र हामी तालाबन्दी खोल्ने पक्षमा छैनौं ।”
जेनजी समूहले मागहरुमा २०७४ सालदेखि अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहबाट विनियोजन भई गाउँपालिकाभित्र कार्यान्वयन भएका योजना, आयोजना, विषयगत कार्यक्रमहरू र खर्चहरूको विवरण सार्वजनिक गरी अनियमितता भ्रष्टाचार शङ्कास्पद विषयको छानबिन गर्न स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने ।
आर्थिक वर्ष २०८१÷०८२को चालु र पुँजीगत तर्फको गाउँपालिकाको सबै खर्च विवरण, जनप्रतिनिधि र कर्मचारीले लिएको घर भाडा, गाडी भाडा, भ्रमण भत्ता, इन्धन खर्च र मर्मत खर्चको छुट्टाछुट्टै विवरण र कार्यपालिकाको निर्णयको प्रतिलिपि उपलब्ध गराउनुपर्ने ।
सुदूरपश्चिम प्रदेश, स्थानीय सेवा गठन तथा सञ्चालन ऐनअनुरूप र सङ्घीय मन्त्रीपरिषद्को निर्णय अनुरूप दरबन्दीविहीन करार कर्मचारीलाई हटाउनुपर्ने र माथिल्लो सरकारी निकायबाट वा सरकारबाट लागु गर्नुभनि आएका पत्र परिपत्रको कार्यान्वयन यथासीघ्र गर्नुपर्ने ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार र गाउँपालिकाबाट असुल गर्नुपर्ने भनी तोकिएको रकम तुरुन्त असुल गरी सार्वजनिक गर्नुपर्ने ।
शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, यातायात, विपद् र खानेपानी जस्ता अति आवश्यक क्षेत्रका योजना तत्काल कार्यान्वयन गर्नुपर्छ ।
वडामा विनियोजन भएको मसलन्द खर्च १३ लाख ५० हजारलाई कटौती गरी नियमन गइनुपर्ने र युवाको क्षेत्रमा बजेट विनियोजन गरी तत्काल गाउँपालिकामा स्थानीय युवा परिषद् गठन गर्नुपर्ने ।
जिन्सी निरीक्षण गरे नगरेको जानकारी सहित के कति समान कहाँ छ र कुन प्रयोजनमा छ? कति लिलाम भयो वा भएन? त्यसको विवरण उपलब्ध गराउनुपर्ने र प्रत्येक वडा र गाउँपालिकाको सामाजिक परीक्षण गरी सार्वजनिक सुनुवाइ गरिनुपर्ने ।
पालिकामा ठेक्का आह्वान गरी सञ्चालनमा रहेका भएका योजनाहरू निर्धारित समयमै सम्पन्न गरिनुपर्ने ।
मदिरा बिक्री वितरण तथा नियन्त्रण ऐन बमोजिम कार्यान्वयन गरिनुपर्ने र भू उपयोग तथा वातावरण सम्बन्धी परीक्षण गरी लागु गर्नुपर्ने र अतिक्रमण रोक्नुपर्ने ।
जेनजी आन्दोलनमा बैतडी जिल्लाबाट सहिद भएका युवाका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने,गाउँपालिका स्तरीय खेलमैदान निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने मागहरु रहेका छन् ।
तालाबन्दी गरेको तीनहप्तासम्म पटकपटक वार्ता र सम्बाद भएपनि निश्कर्षमा पुग्न नसकिएको गाउँपालिकाका अध्यक्ष अम्मर कुँवरले बताउनुभयो ।
तालाबन्दी खोल्ने विषयमा छलफल जारी राखेको र केही बुँदाहरूमा सहमति हुन बाँकी रहेकाले छलफल निरन्तर भइरहेको छ ।
उहाँले भन्नुभयो,“ निरन्तर छलफलमै छौं । केही बुँदाहरूमा सहमति हुन बाँकी रहेको छ । खास गरेर करारका कर्मचारी हटाउनुपर्ने विषयमा सहमति हुन सकेको छैन् । ”
करारका सबै कर्मचारी हटाउनुपर्ने मागमा पालिकाको तर्फबाट असहमति रहेको अध्यक्ष कुँवरले बताउनुभयो ।
उहाँले भन्नुभयो,“करारका कर्मचारी हटाउँदा शिक्षा,स्वास्थ्य र प्रशासन क्षेत्र नै ठप्प हुन्छ । १७० जना करारका कर्मचारी एकैपटक बाहिरिन्छन् ।विद्यालय,स्वास्थ्यसंस्था समेत बन्द हुने अवस्थामा पुग्छन् । त्यसैले यो विषयमा पुर्नविचार गर्न जेनजीलाई आग्रह गरेका छौं ।”
यसका साथै अध्यक्ष कुँवरले सर्वप्रथम गाउँपालिकामा लागेको तालाबन्दी खोल्नुपर्ने पनि अडान राखेका छन् । उहाँले भन्नुभयो,“गाउँपालिकामा तालाबन्दी गरेर हामीले कहाँबाट सूचना दिने,सर्वप्रथम तालाबन्दी खोलिनुपर्छ अनि सूचना दिने काम प्रक्रियागत रुपमा अगाडी बढ्छ। ”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर धानुकले गाउँपालिकामा गरिएको तालाबन्दीप्रति चिन्ता व्यक्त गर्नभयो ।
उहाँले भन्नुभयो,“ गाउँपालिकामा लागेको तालाबन्दी खोल्ने विषयमा सबैले गम्भीर बन्नुपर्छ । जायज मागहरु सम्बोधन गरेर निकास निकाल्नुपर्नेमा एकमत हुनुपर्छ । जनाताका सेवासुविधा रोक्नुहुँदैन् । योजना कार्यान्वयन गर्ने गर्ने लामो समयसम्म तालाबन्दी हुनु सुखद पक्ष होइन् ।”
यसैबीच यसरी लामो समयसम्म तालाबन्दी हुँदा सेवा प्रवाह ठप्प रहेका छन् ।
पालिकाबाट पाउनुपर्ने नियमित सेवा नपाउँदा आम सर्वसाधारण सेवाग्राही समस्या परेका हुन् ।
