बैतडी: संस्कृति संरक्षणका लागि बैतडीको दोगडाकेदारमा यहि कात्तिक १७ गतेदेखि रामलिला महायज्ञ सञ्चालनको तयारी भएको छ ।
दोगडाकेदार सांस्कृतिक समाजको आयोजनामा सञ्चालन हुने रामलिला श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ ।
सांस्कृतिक समाजका सदस्य तथा श्रीकोट बहुमुख्री क्याम्पसका प्रमुख दानसिंह कार्कीका अनुसार रामलिलाको तयारी तीब्र रुपमा भइरहेको छ ।
रामलिला महायज्ञमा अभिनय गर्ने कलाकारहरुको तालिमलगायतको तयारी तीब्र चलिरहेको छ ।
उहाँले भन्नुभयो,“ धर्म संस्कृतिको जगेर्ना गर्न, युवा पिडीलाई अनुशासनको ज्ञान दिन तथा भगवान रामको जीवनीलाई नयाँ पिडीमा बाँड्न रामलिला आयोजना गरिएको हो । मार्यादा पुरुषोत्तम रामचन्द्र भगवानको जीवनगाथामा आधारित नाटक भएकाले यसबाट सनातन हिन्दु धर्म र सत्यताको पाठको बारेमा पनि सिकाइ हुनेछ ।”
कात्तिक २७ गतेसम्म सञ्चालन हुने रामलिलाबाट उठेको चन्दाले सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गरिने उहाँले बताउनुभयो ।
रामलिलालाई व्यवस्थित रुपमा सम्पन्न गर्न राज बहादुर कार्कीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको सांस्कृतिक समाजका अध्यक्ष मोहनसिंह कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“रामलिलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर तयारी थालिएको छ । रामलिलामा नाटक गर्ने कलाकारहरुको तालिम पनि सञ्चालन भइरहेको छ ।”
रामलिला महायज्ञबाट संस्कृति संस्कारको ग्रहणका साथै असामाजिकता र रामजस्तै असल चरित्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र बहादुर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“राम्रो फल प्राप्तिका लागि राम्रो काम गर्नुपर्छ भन्ने सन्देश दिन पनि रामलिला महायज्ञले सहयोग गर्नेछ । रामलिलामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह पनि हुनेछ । ”
सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यो अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक संस्थाका सदस्य तथा श्रीकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति नविन कपाडीले अनुरोध गर्नुभएको छ ।
