बैतडी: बैतडीमा राति ९ बजेसम्ममात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै तिहारको समयमा खेलिने देउसी–भैलो राति ९ बजेसम्ममात्रै खेल्न पाइने उल्लेख गरेको छ ।
तिहारलाई आपसी सद्भाव कायम गर्ने, मौलिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने, भाइचरा बढाउने पर्वको रुपमा मनाउन र न्यायपूर्ण समाज निर्माणको प्रेरकको रुपमा उपयोग गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेलले जानकारी दिनुभयाे।
तिहारको समयमा भुइचम्पा, अतिसबाजी, पटाका लगायतका प्रज्वलनशील पदार्थको प्रयोग नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै दीपावलीको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।
चाडपर्वको समयमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएको भन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
चाडपर्वको समयमा बजारमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने लगायतका प्रवृतिहरु देखिने भएकाले त्यसो नगर्न सम्बद्ध सबैलाई आग्रह गरिएको छ । प्रशासनले जारी गरेको सूचनाको कसैले अवज्ञा गरेमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
