बैतडी: बैतडीको पाटनमा सम्पन्न पाँचौ संस्करणको उदयदेव- पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगिताकाे उपाधि टिम काेइनाेडा गुरूखाेला लायन्सले जितेको छ।
गुरूखाेला लगातार दाेस्राेपटक च्याम्पियन बन्याे । उसले गत संस्करणको उपाधि पनि चुमेकाे थियाे ।
आज सम्पन्न फाइनल खेलमा हिमचुली युवा सदनलाई ७ विकेटले पराजित गर्दै गुरूखाेलाले उपाधि हात पार्याे।
उपाधिसंगै गुरूखाेलाले एकलाख लाख ३५ हजार ७९१ पुरस्कार पायाे । हिमचुलीले ५६ हजार ७८९ मा चित्त बुझायाे।
जितका लागि पाएकाे ११० रनकाे सामान्य लक्ष्य गुरूखाेलाले ९.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा गजेन्द्र बाेहराले सर्वाधिक ४३ रनकाे याेगदान गरे।
हिमचुलीका पारस विष्टले २ विकेट लिए।
यसअघि श्रीकृष्ण खेल मैदानमा पहिला ब्याटिङ गरेकाे
हिमचुली १७.५ ओभरमा १०९ रनमा समेटियो ।
उसका रिसिकेश बाेहराले सर्वाधिक १७ रन जाेडे।
प्लेयर अफ द फाइनल समेत भएका गुरूखाेलाका कैलाश ऐरले ४ विकेट झारे।
यसैबीच हिमचुलीका तर्फबाट खेल्दै ११० रन र ७ विकेट हात पारेका रिसिकेश बाेहरा प्लेयर अफ द सिरिज भए ।
बनारसी क्रिकेट टिमबाट खेल्दै १८४ रन हिर्काएका अभिषेक पाल बेस्ट ब्याटर भए । प्रतियोगितामा ७ विकेट लिएका गुरूखाेलाका राम चन्द बेस्ट बलर चुनिए।
पाटन एकता समाज ख का समीर भण्डारी उदयीमान खेलाडी भए । उनले ४ हजार ४४४ पुरस्कार पाए।
म्यान अफ द सिरिजले १२ हजार ३४५, बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार पाए ।
विजेता,उपविजेता तथा अन्य विभिन्न पुरस्कार जितेका खेलाडीलाई आयाेजक पाटन एकता समाजका अध्यक्ष किरण चन्द, पाटन नगरपालिका प्रमुख गाैरीसिंह रावल, उपप्रमुख कमल बाेहरा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दलगायतले वितरण गरे।
पाटन एकता समाजकाे आयाेजना र पाटन नगरपालिका प्रायाेजनमा असाेज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टाेली सहभागी थिए ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
