विश्वकप छनोटमा नेपालको सुखद सुरुआत,कुवेतमाथि ५८ रनकाे जित

काठमाडौं: नेपालले आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत एसिया तथा इएपी छनोटमा विजयी सुरुवात गरेको छ।

ओमानमा बुधवार सुरु भएको छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै नेपालले जितका साथ यात्रा सुरु गरेको हो ।

जित्नलाई १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अल आउट भयो । कुवेतका ओपनर क्लिन्टो आन्टोले २६ र यासिन पटेलले १९ रन जोडे ।

नेपाललाई सोमपाल कामीले चौथो बलमै ओपनर रविजा सान्दारुवानलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि उस्मान पटेल नन्दन यादवको बलमा स्वीप खेल्ने धुनमा शून्यमा बोल्ड आउट भए । मित भावसारलाई ललितले ११ रनमा क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशी र रोहित पौडेलले पनि समान २ विकेट लिए । सोमपाल, नन्दन र कुशल भुर्तेलले समान १ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।

नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । गुल्शन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाए ।

नेपालका ओपनर आसिफ शेख २, कप्तान रोहित १५ बलमा ३ चौकासहित १६, दीपेन्द्र २०, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए ।

नेपालले १९ औं ओभरमा कुल २७ रन जोडेको थियो । गुलशनले लगातार ३ छक्का र कुशल भुर्तेलले लगातार २ चौका नविनराजलाई हानेका थिए ।

कुवेतका नविनराज राजेन्द्रानले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । मोहम्मद अस्लाम, अनुपदीप र मोहम्मद फारुकले समान १ विकेट लिए । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!