नेपाललाई ऐतिहासिक सिरिज,वेष्टइण्डिजकाे लज्जास्पद हार

काठमाडौं: युएईमा जारी युनिटी कपको दोस्रो खेलमा वेष्टइण्डिजलाई ९० रनले हराउँदै नेपालले एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ ।

तीन खेलको टी२० आई सिरिज नेपालले लगातार दोस्रो जितका साथ एक खेल अगावै जितेको हो । यो नेपालको टेस्ट टोलीविरुद्ध यो पहिलो टी२० आई सिरिज उपाधि समेत हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो । वेष्टइण्डिजका जेसन होल्डरले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए ।
नेपालको जितमा आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए ।
नियमित बलर नन्दन यादव घाइतेभएपछि नेपालले आदिललाई दोस्रो खेलमा मौका दिएको थियो ।
प्रतिबन्धपछि पूनरागमन पहिलो खेलमै आदिलले उत्कृष्ट बलिंग गरेका हुन् । कुशल भुर्तेलले २.१ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो ।

नेपालको जितमा ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नट आउट रहे । सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको योगदान दिए ।

चौथो विकेटलाई सन्दीप र आसिफले एक सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नेपालको टी२० आईमा यो चौथो विकेटलाई भएको उच्च साझेदारीमा पनि पर्दछ ।
यसअघि नेपालबाट २०२३ मा आसिफ र रोहितले युएईविरुद्ध टि ट्वान्टी आईमा चौथो विकेटलाई ९९ रनको साझेदारी गरेका थिए । त्यस्तै टेस्ट टोलीविरुद्ध टि२० आईमा पहिलो पटक नेपाली ब्याटरको अर्धशतक र शतकीय साझेदारी पनि हो ।

वेष्टइण्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए ।

युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई १९ रनले हराएको थियो ।
नेपालले टेस्ट टोलीलाई आफ्नो इतिहासमा पहिलो पटक हराएको हो । सिरिजकाे अन्तिम खेल मंगलवार हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!