जेनजी सहिद बैतडीका दीपककाे परिवारलाई १५ लाख सहयोग उपलब्ध

बैतडी: जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका २ का दीपक सिंह साउँदको परिवारलाई १५ लाख आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

१० लाख आर्थिक सहायता र ५ लाख किरीया खर्च तथा यातायात खर्च वाफत गरेर १५ लाख राहत रकम उपलब्ध गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो ।

गृह मन्त्रालयबाट निकासा भएर उपलब्ध भएको उक्त रकम दीपकको बुवा कालुसिंहको नेपाल एसबिआई बैंक खातामा जम्मा भइसकेको प्रजिअ पौडेलले बताउनुभयो ।

sadak

२० वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते काठमाडौंको कालीमाटीमा गोली लागेको थियो ।
गोली लागेर गम्भीर घाइते दीपकको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो ।

कक्षा १२ पास गरेर कोरिया जानका लागि भाषा सिकिरहेका दीपकको आन्दोलनका क्रममा मृत्यु भएपछि परिवार शोकमा रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालयले आन्दोलनमा मृत्यु भएका निरज पन्तको परिवारलाई राहत रकम उपलब्ध गराइदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

दशरथचन्द नगरपालिका ६ पुर्खौली घर भएका पन्तको परिवार बसाइसराइ गरेर हाल काठमाडौंको टोखा बस्दै आएको प्रमाणित गर्दै आर्थिक सहायता उपलब्ध गराइदिन सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!