काठमाडौं: नेपालले पहिलो टी२० आई खेलमा वेष्टइण्डिजमाथि ऐतिहासिक जित हात पारेको छ ।
नेपालले पहिलो पटक टेस्ट टोलीलाई हराउन सफल भएको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो ।
जित्नलाई १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सक्यो । वेष्टइण्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए ।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १/१ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए ।
वेष्टइण्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । स्पिनर नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान अकिल हुसेनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।
नेपालले अब दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्ने कार्यक्रम छ ।
विश्वकप छनाेटकाे तयारीका रूपमा समेत याे सिरिजलाई लिइएको छ।
