बैतडी: पाँचौं संस्करणको उदयदेव पाटन प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता असोज २२ गतेदेखि हुने भएको छ ।
पाटन एकता समाजको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको स्वीकृतीमा प्रतियोगिता पाटनस्थित श्री कृष्ण मावि खेलमैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले एक लाख ३५ हजार सात सय ९१ रुपैंया पुरस्कार पाउने आयोजक पाटन एकता समाजका अध्यक्ष किरण चन्दले जानकारी दिनुभयो ।
उपविजेताले ५६ हजार सात सय ८९ रुपैंया पुरस्कार पाउनेछ ।
पाटन नगरपालिका प्रायोजक रहेको प्रतियोगितामा अन्य थुप्रै आकर्षक पुरस्कारहरू पनि रहने जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने चाहनेका लागि टिम दर्ता खुल्ला गरिएको आयोजक संस्थाका सहासचिव सन्तोष जोशीले बताउनुभयो ।
टिम दर्ता यहि असोज १८ गतेसम्म खुल्ला रहेको र शुल्क पन्ध्र हजार पाँच सय पचपन्न रहेकोछ ।
सहभागी हुने टिमबाट बैतडी जिल्लाबाहिरका ३ जना मात्रै खेलाडीले खेल्न पाउनेछन् ।
प्रतियोगिताले बैतडीमा क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसअघि सम्पन्न चौथो संस्करणको उपाधि कोइनोडा टिम गुरुखोला लायन्स, तेस्रो मेलौली नगरपालिका, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ),पहिलो कैलपाल क्रिकेट क्लबले हात पारेको थियो ।

