काठमाडौं: पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
पाकिस्तानले अब आइतबार भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
जित्नलाई १ सय ३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनायो ।
बंगलादेशका शमिम हुसैनले २५ बलमा २ छक्कासहित सर्वाधिक ३० रन बनाए ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।
पाकिस्तानका मोहम्मद हरिसले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाए ।
बंगलादेशका तस्किन अहमदले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मेहेदी हसन र रिसाद हुसेन २-२ विकेट लिए ।
भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनलमा भिड्ने भएका छन् ।
सन् १९८४ देखि सुरु भएको एसिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान भिडेका थिएनन् ।
भारतले ८ पटक ( १९८४, १९८८, १९९०/ ९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३) मा एसिया कप उपाधि जितेको थियो । त्यस्तै पाकिस्तानले २००० र २०१२ मा एसिया कप उपाधि जितेको थियो ।
यसअघि समूह चरण र सुपर फोर दुबैमा भारतले पाकिस्तानलाई हराएको थियो । फाइनलमा हारकाे बदला लिदै उपाधि जित्ने माैका पाकिस्तानलाई छ ।
