काठमाडौं: युएईमा जारी एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारतले एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । जित्नलाई १ सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १ सय २७ रनमा अल आउट भयो ।
बंगलादेशका ओपनर सैफ हसनले ५१ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारतका कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । बरुण चक्रवर्तीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले २, तिलक बर्मा र अक्षर पटेलले १-१ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।
बंगलादेशका रिसाद हसनले २, तान्जिम हसन सकिब, मुश्ताफिजुर रहमान र मोहम्मद सैफुदीनले १-१ विकेट लिए ।
सुपर फोरमा यसअघि भारतले पाकिस्तान तथा बंगलादेशले श्रींलंकालाई हराएको थियो ।
बिहीबार पाकिस्तान र बंगलादेश सुपर फोरमा भिड््दै छन् । उक्त खेलको विजेता सुपर फोरमा पुग्नेछ । भारतले अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ । श्रीलंका भने फाइनल दौडबाट बाहिरिसकेको छ ।
