दोगडाकेदारमा बजार अनुगमन,साढे ११ हजारको अखाद्य बस्तु बरामद

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले बजार अनुगमन थालेको छ । गाउँपालिका स्थापनाभएपश्चात यहाँ पहिलोपटक पालिकाको नेतृत्वमा अनुगमन थालिएको हो ।

दशैतिहार लक्षित गर्दै थालिएको अनुगमनमा जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योगका प्रमुख तथा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

पहिलो दिन पालिकाभित्रका मुख्य बजारहरुमा अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिनुभयो । खोचलेक र सिल्लेगडा बजारमा अनुगमन गर्दा ११ हजार पाँचसय ४५ बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको उहाँले बताउनुभयो ।

खोचलेक बजारमा पाँचहजार दुई सय उन्चालिस र सिल्लेगडामा छ हजार तीनसय छ रुपैंया बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गंगा शर्माले बताउनुभयो ।

दुबै बजारमा गरेर ३६ पसल अनुगमन गर्दा नौ पसलमा अखाद्य बस्तु तथा पेय पदार्थ भेट्टिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनका कार्यालय प्रमुख ललित कठायतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ विगतको तुलनामा उपभोक्ता र व्यापारी सचेत भएका छन् । अनुगमनका क्रममा म्याद गुज्रेका सामान कम मात्रामा भेटिन थालेका छन् । ”

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री बितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

चाडपर्वको समयमा अखाद्य बस्तुहरुको बिक्री वितरण हुन सक्ने भन्दै बजार अनुगमन थालिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र खरीद गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको छ ।”

उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ चाडपर्व लक्षित बजार अनुगमनमा तिव्रता दिएका छन् । यसले गर्दा व्यापारी र उपभोक्ता दुवै सचेत हुन थालेका छन् ।”

यसअघि गोठलापानी बजारमा पनि अनुगमन गरिएको थियो । गोठलापानी बजारमा ४२ ओटा पसलहरुमा अनुगमन गरिएको र म्याद नाघेका सामग्री नभेटिएका संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।

अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!