बैतडी: बैतडीको शिवनाथ गाउँपालिकामा सञ्चालन भएको राष्ट्रिय परिचय पत्र दर्ता शिविरबाट करिब साढे छ सय नागरिक लाभान्वित भएका छन् ।
गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदका अनुसार एक महिनासम्म सञ्चालन भएको शिविरबाट ६ सय ३१ जनाले सेवा लिएका हुन् ।
गाउँपालिका कार्यालयमा सञ्चालन भएको शिविरमा विवरण दर्ता गरेकाहरुले परिचय पत्र नम्बर प्राप्त समेत गरिसकेका छन् ।
उहाँले भन्नुभयो,“ सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको भएपनि सबैले सेवा लिएका छन् । अनलाइनबाट तथ्यांक संकलनको काम गरिएकोले सबैको परिचयपत्र नम्बर पनि आइसकेको छ ।”
सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि गाउँपालिकामै शिविर सञ्चालन गरेर परिचय पत्र दर्ताको काम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ जेष्ठ नागरिकहरुलाई परिचय पत्र बनाउन सदरमुकाम आउन ÷जान समस्या भएपछि प्रशासनको प्राविधिक सहयोगमा पालिकामै शिविर सञ्चालन गरेका हौं । प्रत्येक वडाका नागरिकहरुलाई सेवा लिन सहज होस् भनेर वडा अनुसार मिति तय गरिएको थियो । ”
जिल्लाका सबै स्थानीय तहमा शिविरमार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,“सम्बन्धित स्थानीय तहको समन्वयमा परिचय पत्र दर्ता शिविर सञ्चालन गरिएका छन् । स्थानीय नागरिकहरुको समस्यालाई ध्यानमा राखेर सम्बन्धित तहमै शिविरमार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलनको काम गरिरहेका हौं । ”
परिचयपत्र बनाउनकै लागि हजारौं खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य भएपनि स्थानीय नागरिक समेत खुसी भएका छन् ।
