मेरो घर जलाउने जेनजी समूह होइन्,आन्दोलनका नाममा लुटपाट: आयुक्त चन्द

“अर्काको सम्पति लुटेर खानेको कहिल्यै भलो हुँदैन”

बैतडी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले आफ्नो घरमा जेनजी समूहले आगजनी नगरेको दाबी गर्नुभएको छ ।

सहानुभुती दिन पुगेका बैतडीका शुभेच्छुक तथा आफन्तसंग कुरा गर्दै उहाँले आफ्नो घर प्रदर्शनकारीले नजलाएको दाबी गर्नुभएको हो ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते काठमाडौंको हात्तीगौँडामा रहेको उहाँको घर जलाइएको थियो ।

आफू कुनै राजनीतिकर्मी नभएको र राष्ट्रसेवक भएकाले प्रदर्शनकारीले घर जलाउनुपर्ने कारण नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“म कुनै राजनीतिकर्मी होइन् । राष्ट्रसेवकको घर जेनजीले जलाउनुपर्ने कारण थिएन् । छिमेकी र नजिकका मान्छेले घरमा आगो लगाएका हुन् ।”

आफू प्रहरी सेवा रहँदा घर अगाडीको सडक चौडा पार्न डोजर चलाएको रिसिबीले आगो लगाएको उहाँको दाबी रहेको छ ।

उहाँले भन्नुभयो,“ मेरो घरमा आगो लगाउन जेनजीको एकजना पनि आएको छैन् । प्रहरी सेवामा रहँदा यहाँको सडक चौडा पार्न डोजर चलाएको थियो । त्यही रिस बोकेका छिमेकीले आन्दोलनको मौका छोपेर आगो लगाए । ”

वि स २०३९ सालेदेखि प्रहरी सेवामा काम गरेर अहिले अख्तियार आयुक्त भएको स्मरण गराउँदै उहाँले परिश्रम गरेर घर बनाएको बताउनुभयो ।

sadak

उहाँले भन्नुभयो,“ ४० वर्ष इमान्दारीका साथ राष्ट्रसेवक भएर कमाएको पैसाले घर बनाएको हुँ,यो कुनै अन्य कमाईले बनाएको घर होइन् । बैतडीबाट आउँदा एउटा झोला बोकेर आएको हुँ, मेहनतले बनाएको घर खरानी बनाए ।”

यसका साथै उहाँले अर्काको सम्पति लुटेर खानेको कहिल्यै भलो नहुँने बताउँदै आन्दोलनका नाममा लुटपाट भएको दाबी गर्नुभयो । भगवान श्रीकृष्णको पुजा हुने घरमा आगजनी भएको र आगजनी गर्नेको कहिल्यै राम्रो नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो,“ हामीमाथि भगवानको आशीर्वाद छ। त्यसकारण हामी पुनः जलेको घरबाट अझ बलियो भएर निस्किन्छौं ।”

अहिलेको युवा पुस्तामा सहि शिक्षाको कमी रहेको र सुधार गर्न आवश्यक रहेको औल्याउनुभयो ।

उहाँले भन्नुभयो,“समाजको मनोविज्ञान गतल भएको छ । सुधार हुन आवश्यक छ । कहि न कहि हाम्रो शिक्षामा कमी छ । हाम्रो युवा पुस्तालाई सही शिक्षा दिन सकेनौं । सही शिक्षा दिन आवश्यक देख्छु ।”

घरमा आगो लागेको भएपनि आफ्नो मनोबल कमजोर नरहेको र झन बलियो भएर उठ्ने बताउनुभयो ।

कठिन परिस्थितीमा सरकार गठन भएकाले देशलाई आवश्यक परे जस्तोसुकै योगदान दिन पनि तयार रहेको जनाउनुभयो ।

उहाँले भन्नुभयो,“ कठिन परिस्थितीमा सरकार गठन भएको छ । अब शान्ति सुरक्षा र अध्यारो राष्ट्रलाई कसरी उज्यालोतर्फ लैजान सकिन्छ । त्यसका लागि सबैले आ आफ्नो ठाउँबाट सहयोग गरौं ।”

आयुक्त चन्दको हात्तीगौँडामा रहेको दुई तले घर जलेर खण्डहर बनेको छ ।
भिडियाे लिंकमा:- https://youtu.be/ODDPTXAUbgM?feature=shared

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!