बैतडी: बैतडीको सुर्नया गाउँपालिका–५ नौघरकी १७ वर्षीया अप्सरा चन्दको मृत्यु प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सुर्नया ५ कै १९ वर्षिय भरत विश्वकर्मा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयाे ।
मृतकका आफन्तले भरतकाविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको हाे।
अप्सरा बुधबार बिहान सुर्नया नदी किनारमा मृत फेला परेकी थिइन् । उनले सुर्नया नदीमा हाम फालेर आत्महत्या गरेको आशंका गरिएको छ ।
चार दिन पहिला एक स्थानीय युवक र अप्सराको तस्बिर जोडेर फेसबुक आइडी बनाइएको थियो । सामाजिक सञ्जालमा ‘अप्सरा भरत विश्वकर्मा’ नामको फेसबुक आइडी खोलेर स्थानीय भरत विक र अप्सराको तस्बिर एडीट गरी प्रोफाइल तस्बिर नै राखिएपछि बेइज्जतीको डरले यस्तो घटना भएको मृतक अप्सराका आफन्तले बताएका छन् । उक्त आइडी भरत विकले नै बनाएको उनीहरुले बताएका छन् ।
फेसबुकमा अप्सराको फोटो सहित बनाइएको आइडी धेरै मानिससँग साझा गरिएको र त्यसपछि अप्सरा आत्महत्या गर्ने सम्मको अवस्थामा पुगेकी मृतकका जेठाबुवा बिरबहादुर चन्दले बताउनुभयाे ।
भरत र अप्सरा रौलेश्वर मावि रामकी बरायलमा कक्षा १२ मा अध्ययनरत थिए ।
मृतकले प्रयोग गर्ने मोबाइल फेला परेको र यो बिषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
