बैतडी: सुरक्षा निकायको सक्रियताले बैतडी कारागारबाट फरार रहेका कैदीबन्दीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
भदौ २४ गते यहाँको कारागारमा आगजनी र तोडफोड गरेर भागेका ६२ जनामध्ये ५७ जना नियन्त्रणमा आइसकेका बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
फरार रहेका बाँकी पाँच जनाको पनि खोजी तिव्र पारिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ जिल्लामा संयुक्त सुरक्षा टोलीले अप्रेसन सञ्चालन गरेर फरार बाँकी कैदी खोज्ने कार्य गरिरहेको छ । हालसम्मको प्रगति निकै सन्तोषजनक रहेको छ ।”
संयुक्त सुरक्षा टोलीले स्थानीय प्रहरी युनिट, भारतीय सीमा सुरक्षा बल, स्थानीय निकायका प्रतिनिधिलगायतसंग समन्वय गरिरहेको छ ।
अप्रेसनबाट बैतडीका ५७ र अन्य जिल्लाका कारागारबाट भागेका ११ कैदीहरुलाई समेत पक्राउ गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
फरार कैदीहरुको हुलियासहित नाम सार्वजनिक गरेको र अप्रेसनबाट समात्न सजिलो भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
उहाँले भन्नुभयो,“फरार कैदी खोज्न हुलियासहित नाम सार्वजनिक गरेका थियौं । अन्य सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा नियन्त्रणमा लिन सहज भयो ।”
कारागार कार्यालयका प्रमुख धारा भण्डारीले फरार रहेका बाँकी कैदीहरुलाई पनि सम्पर्कमा आउन आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“ फरार रहेका कैदीहरुलाई आफैं सम्पर्कमा आउन आग्रह गरेका छौं । सम्पर्कमा नआएमा थप कानुनी प्रक्रियाबाट अगाडी बढ्छौं ।”
