बैतडी: बैतडी कारागारबाट फरार रहेका कैदीबन्दी समात्न जिल्लास्थित सुरक्षा निकायले सक्रियता देखाएको छ ।
संयुक्त सुरक्षा टोलीले अप्रेसन चलाएर फरार कैदी समात्न सफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“जिल्लाका सबै सुरक्षा निकायको संयुक्त सुरक्षा टोली परिचालन गरेर फरार कैदी समात्न अप्रेसन नै चलाएका छौं । अहिलेसम्म ८४ प्रतिशत भागेका कैदी समात्न सफल भएका छौं ।”
भदौ २४ गते राति यहाँको कारागारमा आगजनी र तोडफोड गरेर ६२ जना फरार भएका थिए । जसमध्ये ५२ जनालाई संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएर कारागारमा राखिसकिएको छ ।
फरार कैदी समात्नका लागि संयुक्त अप्रेसनका साथै भारतीय सीमा सुरक्षा बलसंग पनि समन्वय भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“कैदीहरु भागेपछि जिल्लाका सबै प्रहरी युनिट र भारतीय प्रहरीलाई हुलियासहित पठाएका थियौं । सबैको सक्रियताले भागेका ६२ कैदीमध्ये ५२ जनालाई समात्न सफल भएका छौं ।”
४८ जनालाई जिल्लाका विभिन्न स्थानबाट र चार जनालाई एसएसबीको सहयोगमा सीमावर्ती पिथौरागढ जिल्लाबाट पक्राउ गरिएको हो ।
कारागारबाट कैदी फरार भएपछि उनीहरु भाग्न र लुक्ने सक्ने स्थानको विश्लेषण गरेर अप्रेसन सञ्चालन गरिएको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ फरार कैदी खोज्न भारतीय प्रहरी,स्थानीय पालिकासंग समन्वयका साथै हाम्रा प्रहरी युनिटहरुलाई पनि सक्रिय गरेका हौं । ”
संयुक्त अप्रेसनले बैतडीबाट फरारमध्ये ५२ जना र अन्य जिल्लाका कारागारबाट भागेर आएका ११ कैदीलाई समेत सुरक्षा टोलीले समातेको छ । जसमा छ डडेल्धुरा, चार डोटी र एक दार्चुला कारागारबाट भागेकालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
जिल्लामा बाँकी फरार रहेका १० कैदीको पनि खोजी कार्य जारी रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
फरार बाँकी कैदीलाई कारागार फिर्ताका लागि अर्को सूचना जारी गर्ने तयारी भएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“यसअघि पनि फरार कैदीलाई आफैं कारागार फिर्ताका लागि सूचना जारी गरेका थियाँैं तर सबै सम्पर्कमा आएनन्,फेरी अर्को सूचना जारी गर्छौै । नआए कानुनअनुसार थप कामकारबाही अगाडी बढाउछौं ।”
