बैतडी: जेनजी प्रर्दशनका कारण बन्द रहेका बैतडीका सरकारी कार्यालय, विद्यालयलगायतका संघसंस्थाहरु खुलेका छन् ।
कार्यालयहरु खुल्दा नियमित सेवाहरु सुचारु भएका बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालयहरु सञ्चालनमा आउन थालेका छन् । कार्यालय खुलेसंगै सेवाप्रवाह पनि थालिएको छ । ”
कार्यालयहरु सुचारु भएपनि सेवाग्राही भने न्यून संख्यामा आउने गरेका प्रजिअ पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयहरु खुलेका भएपनि सेवाग्राहीको संख्या भने न्यून रहेको छ । माथिल्लो निकायका संरचनामा आगजनी तोडफोड भएर जिल्लामा सेवा पाउन मुस्किल हुनसक्छ भनेर पनि कम आएका हुनसक्छन् । ”
जिल्लाका कुनै पनि सरकारी कार्यालयमा क्षति भएको विवरण प्राप्त नभएकोले सेवा सञ्चालनमा कुनै बाधा नरहेको प्रजिअ पौडेलले बताउनुभयो ।
यहाँका स्थानीय तहबाट प्रदान हुने सेवाहरु पनि नियमित भएका छन् । कार्यालयहरु खुलेसैगै सेवाहरु पनि सुचारु भएका दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिनुभयो ।
शिवनाथ गाउँपालिकाका पनि सबै सेवाहरु सञ्चालनमा आएका गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ आजदेखि गाउँपालिका कार्यालय खुलेको छ । पालिकाले प्रदान गर्ने सेवा सुचारु भएका छन्। ”
जिल्लाको सिगास गाउँपालिकामा भने जेनजी प्रदर्शनको कुनै असर नपरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ जेनजी आन्दोलनले सिगासमा कुनै असर परेन् । गाउँपालिका कार्यालय बन्द गर्नुपर्ने अवस्था आएन । नियमित रुपमा सेवा सञ्चालनमा रह्यो । ”
सरकारी कार्यालयसंगै यहाँका संघसंस्था,विद्यालयहरु पनि सञ्चालनमा आएका छन् ।
प्रदर्शनका कारण बन्द रहेका विद्यालय खुलेका र पठनपाठन थालिएको रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले बताउनुभयो ।
उहाँले भन्नुभयो,“बन्द विद्यालयहरु खुलेका छन् । नियमित पठनपाठन कार्य चलिरहेको छ । बालबालिकाको उपस्थिति साविककै अनुसार रहेको छ ।”
प्रदर्शनकै कारण प्रभावित बनेको जनजीवन सामान्य बनेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
जिल्लास्थित सरकारी कार्यालय,संघसंस्था,विद्यालय,बजारहरु खुलेका छन् । उहाँले भन्नुभयो,“जेनजीको प्रदर्शन र निषेधाज्ञा र क्रफ्र्युका कारण असहज बनेको जनजीवन अब भने सामान्य बनेको छ ।”
