सुरेश महरा/बैतडी: बैतडीमा बञ्चरो प्रहार गरेर आफ्नै काकीको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई कारागार चलान गरिएको छ ।
कारागार चलान हुनेमा जिल्लाको सिगास गाउँपालिका–२ पेडेगोदाका ३० वर्षीय यज्ञसिंह धामी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
उनलाई बैतडी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
यज्ञसिंहले भदौ २२ गते राति सुतिरहेको अवस्थामा आफ्नै काकी ३४ वर्षीया बेलमती धामीको बञ्चरो प्रहार गरेर हत्या गरेका थिए ।
काकीको हत्या गरेलगत्तै यज्ञसिंहलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि जिल्ला अदालत बैतडीबाट ६ दिनको म्याद थपेर कर्तव्य ज्यान मुद्दामा अभियुक्त धामीमाथि अनुसन्धान शुरु थालिएकोमा आज कारागार चलान गरिएको हो ।
एकल महिला समेत रहेकी मृतक बेलमती धामीका ४ छोरी र एक छोरा रहेका छन् । बेलमतीको हत्यापश्चात छोराछोरीहरु बिचल्लीमा परेका छन् ।
यज्ञसिंहका भने श्रीमतीसहित एक छोरा र एक छोरा छन् । श्रीमती वैदेशिक रोजगारीमा रहेकी छन् ।
