बैतडी: बैतडी कारागारबाट फरार रहेकामध्ये ४९ जना नियन्त्रणमा आएका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार चार जनालाई भारत र ४५ जनालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
गत मंगलबार राति यहाँको कारागारमा आगजनी र तोडफोड गरेर ६२ जना कैदीबन्दी फरार भएका थिए । जसमध्ये ४९ जना नियन्त्रणमा आइसकेका र बाँकी १३ जनाको पनि खोजी तिव्र पारिएको छ ।
फरार कैदीहरु खोज्न संयुक्त सुरक्षा टोलीले अप्रेसन नै सञ्चालन गरेको प्रजिअ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,“ संयुक्त सुरक्षा टोलीको अप्रेसनमार्फत धेरैजसो फरार कैदी समात्न सफल भएका हौं । केही आफैं पनि सम्पर्कमा आएका हुन् ।”
विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू भागेपछि सुरक्षा चुनौती बढेको थियो । फरार कैदी धमाधम नियन्त्रणमा आउन थालेपछि सुरक्षा चुनौती घट्दै गएको प्रजिअ पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,“भागेकामध्ये ७९ प्रतिशत कैदी समात्न सफल भएका छौं । अब सुरक्षा चुनौती घटेको छ । बाँकी फरार रहेकाहरुको पनि खोजी तिव्र छ ।”
बाँकी फरार कैदी समात्न जिल्लाका सबै प्रहरी युनिटलाई हुलियासहित पठाइएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन यसअघि नै सार्वजनिक सूचना समेत जारी गरेको थियौं । भारतीय सीमा सुरक्षा बलसंग पनि समन्वय गर्दै सीमाक्षेत्रमा कडाई गरिएको छ । ”
