बैतडी: भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झुलाघाट नाकामा आवातजावतमा लगाएको रोक खोलेको छ ।
जेन जी आन्दोलनले नेपालमा अशान्ति बढेको भन्दै एसएसबीले बुधबार दिउँसो भारत प्रवेशमा रोक लगाएको थियो ।
केही घण्टा बन्द रहेको नाका अपरान्हपछि सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ भारतीय सुरक्षाकर्मी एसएसबीले दिउँसो भारत प्रवेशमा रोक लगाएको थियो,अपरान्हपछि आफैं जान दिएका छन् ।”
दिउँसो भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको थियो ।
उता भारतीय पक्षले पनि आवातजावतमा कुनै रोकटोक नरहेको स्पष्ट पारेको छ ।
सीमा सुरक्षा बललाई उद्धृत गर्दै भारतीय पत्रिका दैनिक जागरणका पत्रकार प्रमोद कुमार भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“सीमा सुरक्षा बल र खुफिया(अनुसन्धान) विभाग र पुलिसले दिएको सूचनाको आधारमा सीमा क्षेत्रमा कुनै रोकटोक छैन् । नाका सुचारु रहेको छ ।”
जेन जी आन्दोलनपश्चात भएको परिस्थितीलाई मध्यनजर गर्दै देशभर जारी गरेको निषेधाज्ञा बैतडीका पनि जारी छ ।
जसका कारण यहाँको वातावरण सुनसान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।