बैतडी: भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ ।
जेन जी आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत छिर्न सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको हो ।
भारतीय सुरक्षाकर्मी एसएसबीले भारत प्रवेशमा रोक लगाएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले पुष्टि गर्नुभयो ।
उहाँले भन्नुभयो,“भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएको छ । नेपालको अशान्ति परिस्थिती देखेर होला भारत प्रवेश गर्न दिइएको छैन् ।”
भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको छ । प्रजिअ पौडेलले भन्नुभयो,“ भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौं ।”
जेन जी आन्दोलनपश्चात भएको परिस्थितीलाई मध्यनजर गर्दै देशभर जारी गरेको निषेधाज्ञा बैतडीका पनि जारी छ । जसका कारण यहाँको वातावरण सुनसान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
