उद्योगमन्त्री भण्डारीद्वारा डिलाशैनी-५ को वडा कार्यालय उद्घाटन
एकल बहुमतको सरकार नहुँदा समस्या: मन्त्री भण्डारी
बैतडी: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी डिलाशैनी गाउँपालिका वडा नम्बर ५ को तिलाचौरमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ ।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर मन्त्री भण्डारीले प्रशासनिक भवनको उद्घाटन गर्नुभएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पाल,गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीलगायतको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले एकल बहुमतको सरकार नहुँदा समस्या भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“ जनआकांक्षा धेरै छन् । चुनावमा गरेका प्रतिवद्धता पूरा गर्न एकल बहुमतको सरकार नहुँदा समस्या भएको छ । अपेक्षाकृत विकास हुन एकल सरकार हुन आवश्यक छ । ”
गृह जिल्ला बैतडीको विकासका लागि आफू मन्त्री हुँदा या नहुँदा सधैं लागिपरेको बताउँदै उहाँले सीमित स्रोत साधनकाबीच धेरै काम गर्नुभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,“अर्थतन्त्र लयमा नहुँदा सबै निकायको बजेट कटौती भएर आयो । सरकारले गरेका कामको प्रतिफल सोचेअनुरुप भएन । बजेटलाई केन्द्रकृत गर्न सकेनौं । बजेट अभावका कारण रणनीतिक योजनाका कामहरु समेत हुन सकेनन् ।”
यस्तै प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालले डिलाशैनीको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ डिलाशैनीको केन्द्र जोड्ने सडक र अन्य विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको छु । पालिकाभि रहेका अन्य समस्याहरुलाई पनि हल गरिनेछन् । ”
गाउँपालिकाको ७१ लाख बजेटमा वडाको नयाँ भवन निर्माण गरिएको हो ।
उक्त भवनमा हलसहित ७ कोठा रहेका र आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता भएको जनाएको छ ।


