बैतडी: उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
बैतडीको मेलौलीस्थित शितलपुर माविको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सूचना प्रविधिसंग जोडेर विश्वबजारमा बिक्ने शिक्षा आवश्यक रहेको बताउनुभयो ।
सूचना प्रविधिसंग जोड्न व्यवहारिक र व्यवशायिक पाठ्यक्रम आवश्यक छ । उहाँले भन्नुभयो,“शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै विश्वबजारमा बिक्ने शिक्षाको आवश्यकता छ । जसका लागि सरकारले आवश्यक योजना बनाइरहेको छ । ”
शिक्षा विधेयक आजको आवश्यकता रहेको बताउदै यसमा ढिलाई गर्न नहुँने बताउनुभयो ।
हाल संघीय संसदमा सबैभन्दा बढी बहस र प्रतिक्षारत रहेको विषय शिक्षा विधेयक छ । उहाँले भन्नुभयो,“शिक्षा विधेयक जारी भएपछि शैक्षिक क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुन्छन्, त्यसैले यो विधेयक ल्याउन ढिलाई गर्नुहुन्न ।”
जिल्लाका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विकास र शैक्षिक सामग्रीका लागि आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने बताउनुभयो ।

