बैतडी: भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो ।
भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको हो । उहाँले भन्नुभयो,“ भारतको उत्तराखण्ड राज्यका विभिन्न क्षेत्रमा बर्डफ्लु देखिएपछि सीमा जोडिएको जिल्ला भएकोले भित्रिन नदिन सतर्कता अपनाएका हौं ।”
यहाँको भारतसंग सीमा जोडिएका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ ।
केन्द्रले सीमा जोडिएका दशरथचन्द र पञ्चेश्वरलाई उच्च सतर्कता अपनाउन आग्रह गरेपछि यी दुबै पालिकाले सूचना जारी गर्दै सतर्कता अपनाउन भनेको छ ।
भारतबाट लुकीछिपी कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रिन सक्ने भएकोले सीमा क्षेत्र नजिक भएका कुखुरापालक कृषक,व्यवशायीहरु र आम सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले बताउनुभयो ।
चाडपर्वको बेला रातको समयमा अवैध रुपमा कुखुरा भित्रिन सक्ने भन्दै यहाँ उच्च सतर्कता अपनाइएको छ ।
पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडाहरु उत्तराखण्डसंग जोडिएकाले यहाँ पनि विशेष सतर्कता अपनाइएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै चोरीछिपी कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रिनसक्ने भन्दै यस्ता कार्य नगर्न र नगराउन सबैमा आग्रह गरिएको पञ्चेश्वरका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।
कुखुरा तथा कुखुराजन्य पदार्थ भित्र्याउने कार्यका कसैले संलग्न रहेमा तथा सूचनाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही हुने गाउँपालिकाले जनाएको छ ।
बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो । यो जतिबेला जहाँ पनि फैलन सक्दछ। बर्डफ्लू सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् ।
बर्ड फ्लू प्राणघातक रोग भएकोले गम्भीर अवस्थामा निमोनिया, स्वासप्रश्वासको समस्या देखिन गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।
