बैतडी:सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् ।
स्थानीय भाषामा भितरीकी गौरा अर्थात ‘ठूली गौरा’भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।
ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो ।
आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उहाँले बताउनुभयो ।
‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।
साँउ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । खेतबारीबाट साउँ, अपामार्ग लगायतका वनस्पतीहरुको प्रतिमूर्ती बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ ।
तागाधारी पुरुषहरुले जनै धारण गरे जस्तै महिलाहरुले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको पण्डित जयानन्द भट्टले बताउनुभयो ।
यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरु आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ ।
गौरापर्वको मुख्य दिनको रुपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ ।
मौलिक पर्वका रुपमा समेत रहेको गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्ने चलन रही आएको छ ।
सुदूरपश्चिममा दशैंभन्दापनि बढी महत्व दिइने गौरा पर्वका लागि परदेशीएकाहरु पनि घर फर्किने गर्दछन् ।
