बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनकता छाएको छ । गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ ।
ब्रतालु महिलाहरुले बिरुडापञ्चमी अर्थात हिजो पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो ।
आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । साउँ,तिल,अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।
बिरुडाले नै गौरादेवीको पूजाआजाका गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूलहरु चढाउने प्रचलन रही आएको छ ।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ ।
दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोली तेस्रो दिन सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ ।
भोली नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ ।
तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् ।
शुक्लपक्षमा परेको गौरालाई उजेली र कृष्णपक्षमा परेको गौरालाई अधेरी भन्ने चलन रही आएको छ । यो वर्ष उजेली गौरा परेको छ ।
गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत लगायत देउडा समेत खेलेर रमाइलो गर्ने गरिन्छ ।
