सुदूरपश्चिममा पर्व गौरा सुरु,बिरुडा भिजाइदै

बैतडी: सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आज बिहीबारदेखि सुरु हुँदैछ । चारदिनसम्म सञ्चालन हुने गौरा बिहीबारदेखि सुरु हुन लागेको हो ।
विषेश गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दशैं भन्दापनि बढी महत्व दिइन्छ ।
भाद्र कृष्ण अथवा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।

त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतीका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो ।

यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।
गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।
यहाँका महिलाले गहँु केराउ गहत मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धुन्छन ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।
गौरा भित्रयाएर पुजा अर्चना गरि महिलाहरुले दुबधागो चढाउने गर्छन ।
चौथो दिन गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थल मा फाग गाएर पूजाआजा गर्छन ।
साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पुजा गर्ने परम्परा रहेको पुरोहित बताउँछन् । सोहि दिन महिलाले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापिदिने गर्छन । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ ।

गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।

गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेश अनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र देउडा खेल्ने चलन रही आएको छ ।

यसैबीच गौरा पर्व गाउँघरमा चहलपहल पनि बढेको छ ।

गौरा पर्वको लागि रोजगारीका लागि देशबाहिर रहेको स्थानीय बासिन्दा घर फर्किने थालेको गाउँघरमा चहलपहल बढेको बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गणेशसिंह विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,“सुदूरपश्चिममा दशैंभन्दा पनि गौरा पर्वलाई बढी महत्वका साथ मनाउनछन् । गाौराका लागि बजारहरुमा पनि नयाँ लुगा किन्नेको भीड बढ्न थालेको छ । घर बाहिर भएकाहरु पनि घर फर्किन थालेसंगै चहलपहल पनि बढेको छ ।”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!