बैतडी: दशरथचन्द राजमार्गमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बैतडीको गोठलापानीबाट–खोडपे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप दशरथचन्द नगरपालिका– ४ शाहीलेक नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका– ६ का २१ वर्षीय अर्जुन महर, पुर्चाैडी नगरपालिका– ५ का २८ वर्षीय दिनेश पार्की,दशरथचन्द नगरपालिका– ११ ग्वालेकका ५० वर्षीया हरिना जोशी, दशरथचन्द नगरपालिका– ४ का ३४ वर्षीय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका– ४ का २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका– ६ का २२ वर्षीय भुपेश जोशी, पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षीया हिरा भट्ट, पुर्चाैँडी नगरपालिका – ५ का १७ वर्षीय रिकेश पार्की, पुर्चाैडी नगरपालिका – ४ का २३ वर्षीय जनक भट्ट, पाटन नगरपालिका– ९ का १८ वर्षीय कबिराज भट्ट,पाटन नगरपालिका– ९ का २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षीय डम्मर दत्त भट्ट रहेका छन् ।
घाइतेमध्ये अर्जुन र दिनेशको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।
घाइते सबैलाई उद्धार गरि जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ ।
उक्त जीपमा चालक सहित १३ जना सवार रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त जीप सडकबाट ८० मिटर तल खसेको र दुर्घटना कारण खुलेको छैन्।
चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
