सुदूरपश्चिममा गौराको चहलपहल बढ्यो

बैतडी: सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसंगै यहाँ चहलपहल बढेको छ । रोजगारी तथा अन्य कामले घरबाहिर रहेकाहरु गाउँ फर्किन थालेपछि चहलपहल बढेको हो । यस वर्षको गौरा पर्व भदौ १२ गतेदेखि सुरु हुँदैछ । विषेश गरेर सुदूरका पहाडी समुदायमा यो पर्व मनाउने गर्दछन् ।

दशैं भन्दापनि बढी महत्वका साथ गौरालाई मनाइने भएकोले गाउँघरमा चहलपहल बढेको बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गणेशसिंह विष्टले बताउनुभयो ।

गौरा पर्वको लागि रोजगारीका लागि देशबाहिर रहेको स्थानीय बासिन्दा घर फर्किने थालेका छन् । उहाँले भन्नुभयो,“सुदूरपश्चिममा दशैंभन्दा पनि गौरा पर्वलाई बढी महत्वका साथ मनाउनछन् । गाौराका लागि बजारहरुमा पनि नयाँ लुगा किन्नेको भीड बढ्न थालेको छ । घर बाहिर भएकाहरु पनि घर फर्किन थालेसंगै चहलपहल पनि बढेको छ ।”

यो पर्वका लागि स्वदेश फर्किनेहरुको संख्या पनि बढ्दै गएको छ । झुलाघाट नाकाबाट हाल दैनिक १५० जना भित्रिने गरेका इलाका प्रहरी कार्यालय झुलाघाटले जनाएको छ ।
उक्त कार्यालयका इञ्चार्ज गंगा टमाटाका अनुसार सीमावर्ती बजार झुलाघाटमा किनमेल गर्नेको भिडभाड पनि बढेको छ । उहाँले भन्नुभयो,“सीमावर्ती बजारमा गौराका लागि किनमेल गर्नेको संख्या ह्वात्तै बढेको छ । गौराकै लागि भनेर भारतमा रोजगारी गरिरहेका नेपाली पनि फर्किरहेका छ । ”

भदौ १२ गते बिरुडापञ्चमीका दिन बिरुडा भिजाएर गौराको शुरुवात गरिने र १५ गते गौराको मुख्य दिन रहेको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो ।
बिरुडाले गौरा र महेश्वरकोे पूजाआजा गर्ने चलन रही आएको छ ।

गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकार अन्नलाई बिरुडा मान्ने प्रचलन रही आएको छ । बिरुडापञ्चमीका दिन पाँचै प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने प्रचलन रही आएको छ । कतिपय ठाउँमा बिरुडा मिसाएर मात्रै नभिजाइकन पनि राख्ने चलन रही आएको छ ।

भाद्र कृष्ण अथवा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका कुवा अथवा धारा लगेर धुने प्रचलन रही आएको छ ।
अमुक्ताभरण सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । धानखेतबाट साँवा, अपामार्ग लगायतका वनस्पतीहरु ल्याएर गौराको प्रतिमूर्ती बनाउने प्रचलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो ।
यो बर्ष भदौ १५ गते अठ्यावाली परेको छ । अठ्यावालीका दिन ब्रतालु महिलाहरुले गौरा खलामा गौरादेवीको पूजाआजा गर्ने गर्दछन् ।
शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन रही आएको छ । कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ ।

गौरामा ब्रतालु महिलाहरुले बिशेष प्रकारको धागो अर्थात दुबधागो लगाउने प्रचलन रहेको छ । विवाहित महिलाहरुले दुबधागो धारण गर्ने गरेका छन् । नयाँ दुबधागो लगाउनेहरुका लागि पनि शुक्ल पक्षमा परेको गौरालाई शुभ मान्ने गरिएको छ।
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।

सुदूरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् । त्यसैले गौरामा एकै छिन भएपनि डेउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किने गर्छन । गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!